– अर्जुन तिमिल्सिना

कठमाण्डौ । नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठ नागरिक स्टक डिलरले मात्र मार्केट मेकरको काम गर्न नसक्ने प्रस्ट पारेका छन्। 

बिजशालासँगको कुराकानीमा सीईओ श्रेष्ठले यस्तो प्रस्टोक्ति दिएका हुन्। ‘बजारमा हामी रणनीति र योजनाअनुसार एउटा परिधिभित्र रहेर काम गर्ने हो’, उनले भने, ‘बजार घट्यो भन्दैमा बढाउने गरी नागरिक स्टक डिलरले काम गर्न सक्दैन।’

सीमित स्रोत र साधान रहेको कारण बजारमा लगानीकर्ताले अपेक्षा गरेअनुसार नागरिक स्टक डिलरले मार्केट मेकरको काम गर्न नसक्ने श्रेष्ठले बताए। ‘बजारमा घटेको बेला आमलगानीकर्ताले नागरिक स्टक डिलरको विषयमा चासो राख्नु स्वाभाविकै हो’, उनले भने, ‘तर, हामीसँग थोरै स्रोत र साधनको व्यवस्था छ। त्यसैमाथि पनि हामी सरकारको नियम र उनीहरुले दिएको स्क्रिप्ट र भोलुममात्रै किनबेच गर्न सक्छाँै।’

नागरिक स्टक डिलरका कर्मचारीहरुले पनि आफूहरु ऐननियम र साधानस्रोतको अभावले बाँधिएको अवस्थामा रहेको बताए। ‘हाम्रो हिसाबकिताब महालेखपरीक्षकले गर्ने भएका कारण सार्वजनिक खरिद ऐन लाग्ने भएकोले हामी हातखुट्टा बाँधिएको अवस्थामा छौँ’, उनले भने, ‘४० खर्बको बजारमा हामीसँग जम्मा ३ अर्बबराबरको पुँजी छ। यति पुँजीले कसरी मार्केट मेकरको काम गर्न सकिन्छ ?’, एक कर्मचारीले प्रतिप्रश्न गरे। 

केही समयपहिले नागरिक स्टक डिलरको कार्यालय कृष्ण टावरबाट बानेश्वरस्थित प्रिमियर स्कुलनजिक सरेको छ। कृष्ण टावरमा असुविधाका कारण फराकिलो ठाउँमा सरेको एक कर्मचारीले बताए।