काठमाण्डौ । नागरिक लगानी कोषको २८ औँ वार्षिक साधारणभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।
कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।
त्यसैगरी सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा राखे। उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास तथा उत्पादनमूलक क्षेत्र, कोषमा आबद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिवृद्धि गर्न सकिने अवसरहरुका बारेमा जोड दिए।
अध्यक्ष थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थिति बारे जानकारी दिए भने सेयरधनीहरुबाट उठाइएका विषय तथा सुझावका सम्बन्धमा थप पुस्टयाई गरे।
यसका साथै कोषको कारोबारलाई क्रमशः सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गरिनेमा पनि नेपालले जोड दिए।
सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७९–८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम रु. २ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। उक्त अवधिमा कोषले रु. २ खर्ब १२ अर्ब ६४ करोड ७३ लगानी गरेको छ।
कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउनेतर्फ कोषले काम गरिरहेको छ। त्यस्ता नागरिकहरुको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्नेतर्फ कार्य भइरहेको पनि नेपालले जानकारी दिए।
सभामा बैंक तथा वित्तीय संस्थाहरुको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19