काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि र अर्थमन्त्री डा प्रकाशशरण महतबीच छलफल भएको छ। छलफलमा नाडाका प्रतिनिधिहरुले गाडी खरिदका लागि बैंकबाट ऋण दिने व्यवस्था सहज बनाउन माग गरेका छन्। 

छलफलमा नाडाका अध्यक्ष ध्रुव थापाले सुस्ताएको अटो सेक्टरलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरकको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तीय निकायलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नका लागि प्रमुख बाधकका रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन्। ‘बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्छ’, उनले भने। 

अध्यक्ष थापाले सदैव समस्याका रुपमा देखा पर्दै आएको सन्दर्भ मूल्यसूचीका बारेमा तत्काल सरोकारवाला निकायहरुसँग आवश्यक सल्लाह गरी ययार्थपरक मूल्य कायम गर्न आग्रह गरे। 

थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय वर्गमा कर्जा वर्गीकरण गरिनुपर्ने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालालाई समेत असर पर्न जाने बताए। उनले कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नति नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउन आग्रह गरे। 

थापाले नेपालमा अहिले अटोमोबाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोबाइल उद्योगहरुलाई विशेष क्षेत्रमा वर्गीकरण गरी सोहीअनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्नेलगायत काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणका लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागिसमेत पहल गरिदिन पनि अर्थमन्त्रीसँग आग्रह गरे। 

छलफलमा अर्थमन्त्री महतले समस्याहरुका सम्बन्धमा आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए। 

छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा निशान ढकाल पनि उपस्थित थिए।