काठमाण्डौ ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरि अटोमोवाईल्स क्षेत्रका विभिन्न  विषयहरुमा छलफल गरेको छ । 

उक्त छलफलमा अध्यक्ष ध्रुव थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार विन्दुबाट सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधी तोकेको जानकारी दिंदै भन्सारमा रहेका सबै सामानहरु एकै प्रकृतिका नहुने र विशेषत सवारी तथा ढुवानीका साधनहरुका हकमा अझ यस्ता सवारी साधनहरुको आयु अवधि लामो हुने हुँदा यस्ता सवारी साधनहरुका हकमा अन्य सामानहरु सरह एकै प्रकारको व्यवहार गरिनु न्यायोचित नहुने धारणा राखे  । 

साथै उनले हालको विषम परिस्थितीमा सवारी साधनको बजार माग अति न्युन रहेकाले सवारी साधन व्यवसायीहरुले क्रमिक रुपमा छुटाउँदै आएको र हालैको ६ महिना भित्रै पनि करिब १ हजार ६०० सवारी तथा ढुवानीका साधनहरु भन्सार जाँचपास गराइ सकिएको बताए । 

साथै उनले  कम्तीमा चालू आर्थिक वर्षको अन्त्यसम्मको लागि भन्सारमा आइसकेका सवारी तथा ढुवानीका साधनहरुको हकमा भन्सार विन्दुबाट सामान छुटाउन मिल्ने गरी समयावधि थप गर्न ध्यानाकर्षण गराएका थिए ।

 छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बिक्री हुन नसकी भन्सार विन्दुहरुमा रहेका ती सवारी तथा ढुवानीका साधनहरुलाई कुनै पनि मुलुकमा रिएक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनले पनि गरेको तर कार्यान्वयन भने नभएको भन्दै ती सवारी तथा ढुवानीका साधनहरु रिएक्सपोर्ट गर्नका लागि विद्यमान कानूनी व्यवधानलाई सहजीकरण समेत गर्न आवश्यक रहेको बताएका थिए ।

त्यसैगरी नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपाल मै उत्पादन हुने सवै किसिमका व्याट्रीहरु निर्यात गर्दा अन्य निर्यात बस्तुहरुले पाउने सरहको छूट पाउने व्यवस्थाका लागि अनुरोध गरे ।  त्यस्तै नाडाका सचिव विक्रम सिंहानियाले पनि नेपालमा उत्पादीत टायर निर्यात गर्दा पनि सोही किसिमको व्यवस्थाका लागि अनुरोध गरेका थिए ।