काठमाण्डौ । लाभांश सम्बन्धी सूचना ढिलो जानकारी गराउनेलाई कडा कारबाही नहुने व्यवस्थाको फाइदा उठाउँदै सूचिकृत कम्पनीहरुले एकपछि अर्को गर्दै अटेरी व्यवहार प्रदर्शन गर्न थालेका छन् । 

केही दिनअघि नाडेप लघुवित्तले जुन शैलीमा लाभांश सम्बन्धी सूचना ढिलो गरी नेप्सेमा पठायो, त्यसैको सिको गर्दै मिथिला लघुवित्त वित्तीय संस्थाले समेत लाभांश वितरण सम्बन्धी सूचनामा चलखेल गरेको छ । 

यो लघुवित्तको मंसिर १९ गते बसेको संचालक समितिको १६७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई १०.४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५४९९९९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको थियो । 

लाभांश वितरणको निर्णय १९ गते नै गरिए पनि सो सूचना नेप्सेलाई मंसिर २० गते अबेर मात्र प्रेषित गरिएको र नेप्सेले सो सूचनामा मंसिर २१(आज) मात्र प्रकाशित गरेको हो । 

नाडेपले समेत १२ गते निर्णय गरी १३ गते साँझ नेप्सेलाई पठाएको थियो भने नेप्सेले मंसिर १४ गते मात्र प्रकाशन गरेको थियो । नाडेपले गरेको सो फट्याईको बिषयमा नेप्सेले एकदिन कारोबार निलम्बन गर्दै स्पष्टीकरण सोधेको थियो र इन्टरनेट तथा विद्युत नभएको भन्दै आएको स्पष्टीकरणलाई पत्याएर नेप्सेले २४ घण्टामै कारोबार खुल्ला गरिदिएको थियो । 

मिथिलाले समेत नाडेपकै शैलीमा फट्याई गरेको देखिएको छ । १९ गते भएको निर्णयमा २० गते दिनभरि खेलेर साँझ मात्र पठाइएको प्रष्टै देखिन्छ । 

लाभांश सम्बन्धी सूचना ढिलो प्रेषित गर्ने सूचिकृत कम्पनीलाई स्पष्टीकरण सोधी त्यसको सेयर निलम्बनमा राख्ने र सचेत गराउने बाहेक अन्य कारबाही गर्नसक्ने अधिकार नेप्सेलाई नभएका कारण समेत कम्पनीहरुले यस्तो चलखेल गर्दै आएका भेटिएको छ । 

पछिल्लो समय नेप्सेलाई अटेर गरी संवेदनशील सूचनामा कम्पनीहरुले खेलिरहँदा समेत इन्साइडर ट्रेडिङको धन्दामा संलग्न हुनेलाई कडा कारबाही गर्ने कानून बनाउनेतर्फ कसैको ध्यान जान सकेको छैन ।