काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुल्दैछ । 

यो कम्पनीले ६१ हजार २३६ कित्ता साधारण सेयर अक्सनमार्फत बिक्री गर्न लागेको हो । 

कम्पनीले एक सूचना प्रकाशित गरी आगामी फागुन १९ गतेदेखि सेयरको लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिने उल्लेख गर्दै आवेदन दिन इच्छुक लगानीकर्तालाई आग्रह गरेको छ । 

फागुन २८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँको दर लगाई न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्ने बताइएको छ । 

नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेड अक्सनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

नवील बैंकका तोकिएका शाखाहरु वीरगञ्जको आदर्शनगर, सुर्खेतको वीरेन्द्रनगर, नेपालगञ्जबाट तथा नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडका काठमाण्डौको नक्सालस्थित मुख्य कार्यालय, नाडेपका विराटनगर, बुटवल र पोखरास्थित कार्यालयबाट आवेदन दिन सकिनेछ । 

माइक्रोफाइनान्सले यसअघि आफ्ना सेयरधनीका लागि १६ लाख कित्ता हकप्रद निश्कासन गरेको थियो । कुल निश्कासितमध्ये नबिकेको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 

यो सतप्रतिशत हकप्रद र कम्पनीबाट घोषित ३० प्रतिशत बोनस सेयरको पूँजीकरणपछि नाडेपको चुक्तापूँजी बढेर ३६ करोड ८० लाख माथि पुग्नेछ ।