काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा पुनः दोहोरो अंकको गिरावट आएको छ । 

लामो समयसम्म घटिरहेको बजारमा गत साता केही दिन आशाका किरणहरु छाएका थिए । तर, बजार बढोत्तरीको त्यो क्रमले यो साताको पहिलो दिन निरन्तरता पाउन सकेन ।

धेरै राम्रा र बलिया कम्पनीको सेयर मूल्य घटेर न्यून विन्दूमा पुगेको बेला सस्तोमै सेयर उठाउने अवसर छोप्दै लगानीकर्ताहरुले खरिदारी बढाएका थिए, जसका कारण केही दिन बजार बढेको थियो । यो अवसर बजारमा अझै पनि प्रशस्तै रहेको छ । सेयर बजारमा प्रवेश गरी राम्रो रिटर्न चाहनेका लागि अहिलेको समय सुवर्ण अवसर पनि हो, जसको अधिकतम उपयोग गर्नेले भविष्यमा बजार बुल भए राम्रो कमाउन सक्छन् । 

एकातिर बजारमा खरीदको स्वर्णिम अवसर देखिएको छ भने अर्कोतर्फ नियमित लगानीकर्ताहरु बजार विकासको भरपर्दो आधार सिर्जना हुन नसक्दा र बजारप्रतिको विश्वास कमजोर हुँदै जाँदा निराश बनिरहेका छन् । बजार निरन्तर घटेका कारण कतिपयलाई मार्जिन कलको दवाब समेत देखिएको जानकारहरु बताउँछन् । 

यो अलावा अर्थमन्त्रीले नै पूँजीगत लाभकरमा अझै समस्या रहेको सार्वजनिक अभिव्यक्ति दिएका कारण यसले समेत लगानीकर्तामा नकारात्मक प्रभाव पारेको देखिएको छ । स्वयम् अर्थमन्त्री जस्तो व्यक्तिले निश्चित व्यक्तिले बजारलाई खेलौना जस्तो बनाइरहेका बताएका छन् । अर्थमन्त्रीजस्तो व्यक्तिले नै यस्तो अभिव्यक्ति दिंदा बजार आफ्नो प्राकृतिक लयमा रहेनछ र यस्तो कमजोर बजारमा गरिएको लगानी जोखिममा पर्नसक्ने ठानेर समेत थप लगानीको वातावरण नबनेको हुनसक्छ । 

बजारमा अहिले सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । यस्तो बेलामा गरिएको लगानीले छोटो समयमै राम्रो प्रतिफल दिनसक्छ । तर, यो सामान्य कुरालाई समेत लगानीकर्ताहरुले नबुझेको देखिन्छ । यस पछाडिको मुख्य कारण लगानीकर्ताको मनोबल बलियो नबन्नु नै हो । लगानीकर्ताहरुको मनोबल नउकासेसम्म र बजारप्रतिको विश्वास नबढाएसम्म बजार बढ्न नसक्ने कतिपयको विश्लेषण छ । 

समग्रमा लगानीकर्तामा बलियो आत्माबलको अभाव भएका कारण बजारमा गिरावटको यात्राले निरन्तरता पाएको हो । 

आइतबार नेप्से परिसूचक १२.६१ अंकले घटेर ११७८.४६ को विन्दूमा सीमित बन्न पुगेको छ । 

राम्रा र बलिया कम्पनीको सेयर मूल्य दुई दिन बढेपछि थोरै भए पनि नाफा बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले पनि बजार घटाएको देखिन्छ । यो दिन सेन्सेटिभ इण्डेक्स २.७७ अंकले तथा फ्लोट इण्डेक्स ०.८६ अंकले घटेका छन् । 

नेप्सेका सबै समूहका उपसूचक घटेका छन् । बैंकिङ समूह १०.९६ अंकले घटेको यो दिन विकास बैंक समूह १५.८२ अंक, होटल समूह ९.२२ अंक, जलविद्युत समूह १२.९२ अंक, बित्त समूह ०.२९ अंक, जीवन बिमा समूह ८५.४४ अंक, निर्जीवन बिमा समूह १०२.२९ अंक, माइक्रोफाइनान्स समूह ७.५ अंक, म्युचुअल फण्ड समूह ०.०४ अंक, उत्पादन तथा प्रशोधन समूह १२.५९ अंक र अन्य समूह ७.१५ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका ११ लाख ७३ हजार ४८८ कित्ता सेयर ३० करोड ५३ लाख, १० हजार ७१९ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन प्रभू बैंकको ५ करोड २४ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ भने एनआइसी एशिया बैंकले १ करोड ६१ लाख, प्रभू बैंकले १ करोड २९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १३ लाख, कुमारी बैंकले ९३ लाख, शिवम सिमेन्टले ८१ लाख, सानिमा बैंकले ७६ लाख, सिटिजन्स बैंकले ७५ लाख, नवील बैंकले ७४ लाख र नेपाल बैंकले ७१ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आँधीखोला लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो ।

जानकी फाइनान्सका लगानीकर्ताले ५.२६ प्रतिशतले सम्पत्ति बढाए । यो कम्पनीको आकर्षक लाभांशको सकारात्मक प्रभाव कम्पनीको सेयर मूल्यमा परेको देखिएको छ । 

यो दिन पाँचथर पावर र युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । यी दुई कम्पनीको सेयरमूल्य क्रमशः ८.४९ तथा ८.२३ प्रतिशतले घट्न पुग्यो ।