काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नासा इन्भेस्टमेन्ट प्रालिलाई धितोपत्र व्यवसायसम्बन्धी कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ। 

सेबोनले आज पत्राचार गर्दै नासा इन्भेस्टमेन्टलाई धितोपत्र व्यवसायसँग सम्बन्धित कार्य तत्काल बन्द गरी जानकारी गराउन निर्देशन दिएको हो। 

नासा इन्भेस्टमेन्टको केन्द्रीय कार्यालय विराटनगरको भृकुटी चोकमा रहेको छ। यो कम्पनीले सेबोनसँग अनुमति नै नलिई डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता (टीएमएस) को सहजीकरण गर्ने, सेयर बजारमा पोर्टफोलियो म्यानेजमेन्टसम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिदबिक्रीसम्बन्धी परामर्श दिनेजस्ता गर्दै आएको छ। 

सेबोनले धितोपत्रसम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको भन्ने जानकारी प्राप्त भएकोले ती कार्य तत्काल बन्द गर्न नासा इन्भेस्टमेन्टलाई निर्देशन दिएको छ। 

प्रचलित धितोपत्रसम्बन्धी कानुनबमोजिम ती कार्यहरु सेबोनबाट अनुमतिपत्र लिएरमात्र सञ्चालन गर्न पाइन्छ। ती कार्य सेबोनबाट अनुमतिपत्र प्राप्त नगरी गरेको खण्डमा गैरकानुनी हुने र धितोपत्रसम्बन्धी ऐनबमोजिम कारबाही हुने सेबोनले चेतावनी पनि दिएको छ।

यो कम्पनीले सेयर बजारमा काका उपनामले चिनिने केशव कोइरालालाई लगेर २०७८ साउन १५ गते विराटनगरस्थित कार्यालयसमेत उद्घाटन गरेको थियो। कम्पनी स्थानीय जनप्रतिनिधिदेखि लिएर बजार अन्य ठूला लगानीकर्ताहरुलाई प्रयोग गैरकानुनी रुपमा सेयर बजारसम्बन्धी गतिविधिहरु सञ्चालन गर्दै आएको छ। 

यो प्रकरणले सेयर बजारका जानकार हौँ भन्ने मान्छेहरु पनि नबुझी कसरी गैरकानुनी धन्दाको सहजकर्ता र इन्फ्लुएन्सर भइरहेका छन् भन्ने देखिन्छ। हजारौँ सोझा लगानीकर्ताले फलो गर्ने बजारका व्यक्तिहरुको गतिविधिप्रति आँखा चिम्लिएर समर्थन गर्नुहुन्न भन्ने गतिलो पाठ पनि यो प्रकरणले लगानीकर्तालाई सिकाएको हुनुपर्छ।