काठमाण्डौ । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई प्राथमिकतामा राख्दै यस्तो घोषणा गरेको हो। आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी गराएका हुन्। 

निजगढ विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले यसलाई अगाडि बढाउने निर्णय गरेको हो। प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने पनि सरकारले नीति लिएको छ। 

आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका टर्मिनल भवनको स्तरोन्नति गरिनेसमेत सरकारले घोषणा गरेको छ। निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्ण क्षमतामा उपयोगमा ल्याउने सरकारले नीति लिने भएको छ। 

हवाई सेवालाई सुरक्षित बनाउन सरकारले सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने राष्ट्रपति पौडेलले जानकारी दिए।