काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु सामान्य लाभांश वितरण गर्न समेत असमर्थ भइरहेको बेला सरकारी लगानीका कम्पनीहरु भने मालामाल भइरहेका छन् । विशेष गरी पूँजी, बित्त र मुद्रा बजारसँग सम्बन्धित सरकारी कम्पनीहरुले उछालको गतिमा आम्दानी बढाइरहेको देखिएको हो । 

यो लाइनमा सिडिएस एण्ड क्लियरिङ लिमीटेड पनि देखिएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडि बढाएको छ । 

सतप्रतिशत लाभांश वितरणको प्रस्ताव पारित लगायतको अजेण्डासहित कम्पनीले आगामी पुस २६ गते आफ्नो १३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

काठमाण्डौको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोश्रो तलामा सभा आह्वान गरिएको छ । 

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९-८० को लेखारीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव समेत पेश हुने बताइएको छ ।