काठमाण्डौ । अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई निजी स्वार्थमा केन्द्रित नहुन आग्रह गरेका छन्। 

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बुधबार आयोजित ‘अर्थचित्र’ विमोच तथा पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन्। उनले निजी क्षेत्रले देशको आर्थिक मेरुदण्डलाई सहयोग पुग्ने गरी काम गर्नुपर्ने बताए। 

मन्त्री शर्माले देशमा साधनस्रोत, पुँजी र श्रमको अभाव नरहेको बताए। ‘तर व्यवस्थापन गर्ने क्षमतामा कमजोरी देखिएको छ’, उनले भने, ‘निजी क्षेत्र राम्रो हुने तर सरकारी क्षेत्र कमजोर हुने मुख्य कारण नै व्यवस्थापन क्षमतामा कमजोरी हुनु हो, त्यसैले व्यवस्थापन क्षमता बढाउन आवश्यक छ।’

देशको अर्थतन्त्र विकास गर्न धेरै सुधारका कार्य गर्न आवश्यक रहेको अर्थमन्त्री शर्माले बताए। यसका लागि निजी क्षेत्रले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। 

निजी क्षेत्रलाई प्रोत्साहन गरी अगाडि बढाउन सरकार तयार रहेको पनि शर्माले बताए। ‘देश विकासका लागि निजी क्षेत्रलाई अगाडि बढाउन पर्छ’, उनले भने, ‘त्यसका लागि पूर्वाधार विकास, सडक निर्माण र फास्ट ट्रयाक निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ।’