काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रको ‘हामीलाई छुट्टै बुझ्ने गरेको’ भन्ने बुझाइ गलत रहेको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ वार्षिक साधारणसभा एवं छैटौँ महासभाको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने कुरा अन्त्य हुनुपर्छ, निजी क्षेत्रको यो बुझाइ गलत हो’, उनले भने, ‘सरकार र निजी क्षेत्र साइकलका दुई पांग्रा हुन्। साइकल दुईवटा पांग्रा नभई गुड्दैन, त्यसैले निजी क्षेत्र र सरकार कसरी फरक–फरक हुन सक्छ।’

निजी क्षेत्र र सरकार सँगसँगै हातेमालो गर्दै अगाडि बढेमा आर्थिक विकास सम्भव रहेको पनि अर्थमन्त्री शर्माले बताए। ‘निजी क्षेत्रसँग बारम्बार सहकार्य भइरहेको छ। सरकारको अभिन्न अंगका रुपमा लिएका छौँ’, उनले भने, ‘उहाँहरुका सल्लाह–सुझावलाई नीति रुपान्तरण भएका छन्। कार्यान्वयन पनि गरिरहेका छौँ।’ 

शर्माले अहिले निजी क्षेत्रले उठाएका मागप्रति सरकार र राष्ट्र बैंक गम्भीर रहेको बताए। ‘ती मागका विषयमा छलफल गर्नुपर्छ’, उनले भने, ‘सुधार गर्न जरुरी छ भने सुधार गर्नुपर्छ।’ 

मन्त्री शर्माले अर्थतन्त्रलाई गुणात्मक रुपमा चलायमान बनाउन उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने योजनाको महत्व बोध गर्न र गराउन जरुरी रहेको बताए। ‘अहिले उत्पादनमुखी अर्थतन्त्रको बोध हुन सकेको छैन’, उनले भने, ‘त्यसैले हामीसँग भएका स्रोत र साधन प्रयोगविहीन बनेका छन्। राज्यका सबै निकाय र सरोकारवालाले यो कुरा बुझ्न जरुरी छ।’

उत्पादनमुखी अर्थतन्त्रका लागि छलफल र बहस जनतासम्म पुर्याउन जरुरी रहेको शर्माले बताए। ‘त्यसका लागि गुणात्मक विकास र परादर्शी नीति आवश्यक छ। यो कुरा जनतामाझ गरिने बहसबाट मात्रै प्राप्त हुन्छ’, उनले भने।