काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) नवनिर्वाचित पदाधिकारी र मुख्य सचिव डा. बैकुण्ठ अर्यालबीच बुधबार छलफल भएको छ। 

छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल उकास्नुपर्नेमा बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सार्वजनिक निजी साँझेदारीमा नयाँ औद्योगिक क्षेत्र अगाडि बढाउनुपर्ने, जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने बताए। 

अध्यक्ष अग्रवालले स्वदेशी वस्तुहरुको प्रवर्द्धनका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गराउन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा सीप विकासलाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गरे। 

यसका साथै अग्रवालले उधारो उठाउने ऐन र अग्रिम जमानत कानुनको आवश्यकता औँल्याए। 

छलफलमा मुख्यसचिव अर्यालले परिसंघले उठाएका विषयहरुको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने बताए। परिसंघले अर्थतन्त्रका लागि महत्वपूर्ण नीतिगत सुझावहरु दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत प्राप्त भइरहने विश्वास व्यक्त गरे। 

अर्यालले परिसंघको नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना पनि दिए। 

छलफलमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्यहरु गोकुल भण्डारी, छायाँ शर्मा, महानिर्देशक दिपकराज जोशी सहभागी थिए।