काठमाण्डौ । बुधबार सेयर कारोबार सुरु भएको केही समयपछि नै एकाएक ८५ अंकले बजारमा पहिरो गएपछि लगानीकर्ता आत्तिए। केहीबेर अगाडिसम्म बढिरहेको बजारमा एकाएक उच्च अंकको गिरावट आएपछि त्यसले लगानीकर्तामा अत्याश ल्याउनु स्वाभाविकै थियो। आखिरमा एकाएक बजार यसरी किन घट्यो ?

नेप्सेको अनलाइन कारोबार प्रणालीको भेन्डर कम्पनी वाइको प्रालिले निफ्रामा एकैपटक एउटै मूल्यको ठूलो सेलअर्डर पोस्ट हुँदा एकाएक नेप्से इन्डेक्स नै नराम्ररी प्रभावित भएको प्रस्टीकरण दिएको छ। तर, समस्या यतिमा मात्रै सीमित रहेनछ ।

नेप्से र वाइकोस्थित अन्य स्रोतहरुका अनुसार टीएमएसमा लगानीकर्तामध्ये कोही ५ जनाले मार्केट अर्डर अप्सनमा सेलअर्डर राखिदिए, यो अप्सनमा प्राइस राख्न मिल्दैन, सिस्टमले शून्य प्राइस देखाइदियो। टीएमएस केही स्लो भएका बेला सिस्टमले मार्केट अर्डरमा प्लेस भएको शून्य मूल्यलाई तानिदियो। जसका कारण सिस्टममा निफ्राको सेयरमूल्य सतप्रतिशत घटेको देखियो। 

निकै ठूलो परिमाणको सेयर सूचीकृत भएको यो बैंकले पछिल्लो समय समग्र नेप्से परिसूचकलाई नै प्रभावित बनाउँदै आएको छ। निफ्राकै कारण नेप्सेमा घटबढको अवस्था देखिने भएपछि इन्डेक्स गणनाविधि नै परिवर्तन गर्नुपर्ने मागहरु पनि उठिरहेको छ। यही समयमा केही लगानीकर्ताहरुले सनकको भरमा शून्य मूल्य देखिने अप्सनमा सेलअर्डर पोस्ट गरिदिँदा बुधबार समग्र बजार प्रभावित भएको हो। 

वाइकोका प्रतिनिधि दीपेश प्रधानले निफ्रामा एकैपटक १ लाखभन्दा बढी सेलअर्डर आउनु र ५ जनाले मार्केट अर्डरमा सेल अर्डर पोस्ट गर्नु आजको समस्याको मुख्य कारक भएको बताए। 

निफ्राको सेयर सिस्टममा शून्यमा ट्रेड भएको देखियो। तर, यो ट्रेड भएको होइन अर्डरका कारण यस्तो भएको हो। प्रधानले भने, ‘मार्केट अर्डरमा क्वान्टिटीमात्र राख्दा मूल्य चाहिँ शून्य देखायो।’