– अर्जुन तिमिल्सिना
काठमन्डौ । आज ३०.५१ अंकले घटेको सेयर बजारमा ४ कम्पनीका सेयरमा पोजिटिभ सर्किट लागेको छ। पोजेटिभ सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेका छन्।
मध्य भोटेकोशीको सेयर भर्खर धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। कारोबार खुलेयता मध्य भोटेकोशीको सेयरभाउमा पोजिटिभ सर्किट लाग्दै आएको छ।
त्यसैगरी कर्पोरेट र नारायणी डेभलपमेन्ट बैंकहरुको हकप्रदका कारण सेयर बजारमा भाउ उचालिएको छ।
निफ्राको सेयरभाउमा भने आज एकाएक सर्किट लागेको छ। हिजो पनि निफ्राको सेयरमा ७ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको थियो। अन्तिम कारोबार मूल्यअनुसार निफ्राको प्रतिकित्ता ३७२ रुपैयाँ कायम भएको छ।
निफ्राको सेयरमूल्यमा एकाएक उछाल आउनुमा अनेक अड्कलबाजी गर्न थालिएको छ।
एक ब्रोकर कम्पनीका सञ्चालकका अनुसार निफ्रा बढ्नुमा २–३ वटा कारण हुन सक्छन्। ‘पहिलो कारण भनेको धेरै लगानीकर्ताले निफ्राको सेयर ६०० रुपैयाँभन्दा माथिमा खरिद गरेका थिए। हाल निफ्राको सेयरमूल्य धेरै घटेर सस्तो भएका कारण सबैले एभरेजिङ गर्न खरिद गर्दा मूल्य बढेको हुन सक्छ’, ती सञ्चालकले भने।
दोस्रो कारण भनेको हाल बजार बढ्ने देखेर बजार ३२०० को विन्दुमा पुग्दा उच्च मूल्यमा निफ्राको सेयर बेचेका टुरिस्ट लगानीकर्ताले पुनः घटेको बेला निफ्राको सेयर उठाउनु पनि हुन सक्ने ती सञ्चालकको भनाइ छ। ‘टुरिस्ट लगानीकर्ता बजार छिर्दा जहिले पनि सस्ता र लोकप्रिय कम्पनीमा छिर्ने भएकोले निफ्रा र एचआईडीसीएलजस्ता कम्पनीमा खरिद गरेका हुन् सक्छन्’, उनले भने।
तेस्रो र महत्वपूर्ण कारण भनेको निफ्राले आफ्नो सहायक कम्पनीमार्फत विद्युत बिक्रीको अनुमति पाउन सक्ने चर्चा चल्नु नै हुन सक्ने ती ब्रोकर सञ्चालकले बताए। ‘कम्पनीमा शक्तिशाली मान्छे पनि छन्’, ती ब्रोकर सञ्चालकले भने, ‘कम्पनीमा लगानीयोग्य पैसा पनि भएकोले विद्युत बिक्री गर्ने अनुमति पाउन सक्ने भएर पनि निफ्राको सेयरभाउ बढेको हुन सक्ने देखिन्छ।’
आज उच्च कारोबार १० कम्पनीमा निफ्रा नवौँ स्थानमा छ। निफ्राको आज १६ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ। निफ्राको आज ४ लाख ४३ हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएका छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago