काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ऋणपत्रमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन रहेको छ। 

निफ्राले गत मंसिर २९ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज पुस १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। 

निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा उर्जा ऋणपत्र  २०८५–८६’ नामक ऋणपत्र जारी गरेको छ। कुल इकाइमध्ये ३० लाख इकाइ बैंकले व्यक्तिगत तबरमा बिक्री गर्नेछ। बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरार्फत आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। 

निफ्राको यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।