- अर्जुन तिमिल्सिना

काठमाण्डौ। नेपालको महान चाड दसैँमा अन्य बेलाभन्दा ह्वात्तै मानिसको चहलपहल बढ्छ। सामान्य बजारदेखि ठूलठूला मलसम्म किनमेल गर्नेहरुको भीड थेगिनसक्नु हुन्छ। 

हिजोआज ब्रोकर हाउसहरुमा त्यस्तै माहौल सिर्जना भइरहेको छ। यो माहौल सिर्जना भएको हो हालै धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) का कारण। 

निफ्राले हालै ८ अर्ब रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जुन हालसम्मकै ठूलो हो। यो आईपीओमा ५० कित्तासम्म भर्ने सबैले पाएका थिए भने ५० कित्ताभन्दा बढी भर्नेहरुमध्ये ४ लाखभन्दा बढी आवेदकले गोलाप्रथाबाट ६० कित्ता सेयर हात पारेका थिए। 

सुरुआती कारोबार उच्चतम रेन्ज ३४० रुपैयाँमा खुलेको निफ्राको सेयरमूल्यमा लगातार ५ दिनसम्म १० प्रतिशतको हाराहारीमा वृद्धि भएर हिजो बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५४६ रुपैयाँ कायम भएको छ। यो हिसाबले निफ्राका लगानीकर्तालाई एक सातामै प्रतिकित्तामा ४४६ रुपैयाँ नाफा भइसकेको छ। 

हिजोआज प्रायः ब्रोक हाउसहरुमा निफ्राकै लगानीकर्ताहरुमात्रै भेटिन्छन्। अधिकांश लगानीकर्ताहरु निफ्राको सेयर बेचेर दोस्रो बजारमा प्रवेश गर्ने तयारी गरिरहेका छन्। त्यसका लागि उनीहरु धमाधम ब्रोकर हाउहरुमा डिम्याट तथा केवाईसी अद्यावधि गरिरहेका छन्। ‘अहिले ब्रोकर हाउसहरुमा लागेको भीडले ठूलै चाड (दसैँ) मा सामान किन्नेहरु झुम्मिएका मानिसहरुको झल्को दिइरहेको छ’, एसियन सेक्युरिटिज् ब्रोकर नं. २६ बुटवल शाखाका दीनानाथ शर्माले भने, ‘अधिकांश लगानीकर्ताहरु निफ्राबाट प्रफिट बुक गर्ने ध्याउन्नमा छन्, कोही यसैको सेयर बेचेर दोस्रो बजारमा प्रवेश गर्ने तयारीमा पनि देखिन्छ।’ 

काठमाण्डौस्थित ब्रोकर नं. २६ मै भेटिएका लगानीकर्ता प्रेम शर्माले आफू र पत्नीलाई गरी कुल ११० कित्ता सेयर परेका बताए। ‘अब १–२ दिनमै निफ्राको सेयर बेच्छु’, उनले भने, ‘राम्रै फाइदा छ, त्यो पैसा फेरि अर्कोमा दोस्रो बजारमा लगानी गर्छु।’

अर्की महिला लगानीकर्ता सुनिता ढकालको सोच पनि शर्माको भन्दा फरक छैन। ‘निफ्राको भाउ ह्वात्तै बढेको छ, भोलि के हो के ?’, प्रफिट बुक गर्न हत्तारिएकी ढकालले भनिन्, ‘त्यसैले राम्रो नाफा भएको बेला बेच्ने विचार गरेकी छु।’

शर्मा र ढकाल दुवै डिम्याट र केवाईसी अद्यावधि गर्न ब्रोकर पुगेका थिए। 

निफ्राको आईपीओले अहिले देशव्यापी रुपमा सेयरको माहौल सिर्जना भएको छ। सार्वजनिक स्थलदेखि सार्वजनिक सवारीसाधनसम्म अहिले सेयरकै चर्चा चुलिएको छ।