– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा भएको तीनवटा व्यवस्था संशोधन गरी स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। सेबोन सञ्चालक समितिबाट पारित गरी पठाइएको उक्त मस्यौदा मन्त्रिपरिषद्बाट पारित भएमा शंकर ग्रुपलाई नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो ‘क्लियर’ हुनेछ।
शंकर गोल्यानका दुई छोरा साहिल र सुलभ अग्रवालले लबिस्ट दीपक भट्टको आडमा स्टिल, अटो मोबाइल्स, सिमेन्टदेखि दर्जनौँ क्षेत्रमा आफ्नो व्यावसायिक संरचना खडा गर्न सफल भएका छन्। केही समय अगाडि शंकर ग्रुप लबिस्ट भट्टको नै आशीर्वादमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालदेखि अन्य व्यावसायिक घरानासम्मलाई रुझाएर हिमालयन रि–इन्स्योरेन्सको लाइसेन्स लिन सफल भएको थियो। अहिले उक्त ग्रुपको नजर ‘नयाँ स्टक एक्सचेन्ज’ मा रहेको छ।
नयाँ स्टक एक्सचेन्जका लागि सम्बन्धित ठाउँमा आवश्यक डिलहरु भइसकेको सेबोननिकट कर्मचारी बताउँछन्। अर्बौं कमिसनको डिल भएको स्टक एक्सचेन्जको लाइसेन्सका लागि राजनीतिज्ञदेखि कर्मचारीहरुसम्म रुझाउने जिम्मा भने भट्टले नै लिएका छन्। नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको पहिलो स्टेप धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरी स्वीकृतिका लागि मन्त्रालय पठाउन भट्ट सफल भइसकेका छन्।
सेबोन सञ्चालक समितिबाट धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा भएको व्यवस्था दीपक भट्टकै ईशारामा संशोधन गरिएको सेबोनस्थित एक उच्च अधिकारीले बताए। ‘सेबोनले नयाँ स्टक एक्सचेन्जका लागि न्यूनतम चुक्तापुँजी ३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधन गरेको छ। त्यसका साथै नयाँ स्टक एक्सचेन्जमा लगानी गर्ने सीमा पनि १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ’, ती अधिकारीले भने, ‘नियमावली संशोधनसँगै शंकर ग्रुपलाई हिमालयन–रीको जस्तै अन्य व्यावसायिक घरानालाई पनि समेटेर लाइसेन्स आफ्नो हातमा पार्ने बाटो खुला भएको छ।’
बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालदेखि कर्मचारीसम्म रुझाएर हिमालयन–रीको लाइसेन्स लिन सफल शंकर ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छादेखि, पशुपति मुरारका, सतीशकुमार मोर, विकास दुगड, विवेक दुगडलगायतका व्यवसायीहरुलाई समेट्न सफल भएको थियो। नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदा अन्य व्यावसायिक घरानाबाट विरोध नहोस् भनेर हिमालयन–रीमा जस्तै नै उक्त समूहको अन्य प्रतिस्पर्धी समूहहरुलाई पनि समेट्ने योजना रहेको देखिन्छ।
त्यस्तै धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र लगानी गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो। तर, संशोधित नियमावलीमा पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त व्यवस्था शंकर ग्रुपकै लागि संशोधन गरिएको ती अधिकारीले बताए। ‘पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न पाउने व्यवस्था निर्धारण भएसँगै शंकर ग्रुपलाई नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो थप सहज गरिदिएको छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago