काठमाण्डौ । आमलगानीकर्तासँग सरोकार राख्ने महत्वपूर्ण सूचना तथा वित्तीय विवरण सूचीकृत कम्पनीहरुले समयमै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पेस (अपलोड) नगरे अब दैनिक जरिवाना तिर्नुपर्ने व्यवस्था ल्याउन लागिएको छ। 

नेप्सेले लाभांश घोषणालगायत महत्वपूर्ण सूचना र जानकारी तथा हरेक त्रैमासिक र वार्षिक रुपमा पेस गर्नुपर्ने वित्तीय विवरण तोकिएको अवधिमा पेस नगर्ने कम्पनीहरुलाई दैनिक जरिवानाको व्यवस्था ल्याउन लागेको हो। यसका लागि नेप्सेले यससँग सम्बन्धित नियमावली संशोधन गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाइसकेको छ। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हाल त्यस्ता महत्वपूर्ण सूचना र वित्तीय विवरण समयमै पेस नगर्ने कम्पनीको सेयर सूचीकरण स्थगन (कारोबार रोक्का) गर्न सकिने प्रावधानमात्र रहेको बताए। तर, यो व्यवस्था अलि फितलो र अव्यवहारिक देखिएकोले नेप्सेले दैनिक जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

सम्बन्धित नियमावलीमा आवश्यक संशोधन गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा केही महिनाअघि नै पठाइएको प्रवक्ता पराजुलीले जानकारी दिए। ‘धितोपत्र बोर्डबाट स्वीकृत भएर आउन बाँकी छ’, उनले भने, ‘त्यहाँबाट स्वीकृत भएर आएपछि कार्यान्वयनमा ल्याउनेछौँ।’

नेप्सेको सूचना र विवरण पेस गर्ने हालको व्यवस्था उल्लंघन गर्ने थुप्रै कम्पनीहरु रहेका छन्। नेप्सेले बेला–बेला त्यस्ता कम्पनीहरुलाई सचेत गराउँदै आएको छ। तर, नियम उल्लंघन गर्ने कार्य भने न्यूनीकरण हुन सकेको छैन। 

नेप्सेले ल्याउन लागेको नयाँ व्यवस्थाअनुसार यदि कुनै नेप्से र सूचीकृत कम्पनीहरुबीच भएको सम्झौताबमोजिम तोकिएको समयसीमाभित्र महत्वपूर्ण सूचना वा वित्तीय विवरण पेस नगर्ने कम्पनीहरुले चुक्तापुँजीका आधारमा दैनिक जरिवाना तिर्नुपर्ने हुन्छ। ‘यो व्यवस्था लागू भएमा कम्पनीहरुले तोकिएको समयमा वित्तीय विवरण, महत्वपूर्ण सूचना तथा जानकारी पेस नगरेको खण्डमा चुक्तापुँजीको ०.०५ प्रतिशतले दैनिक जरिवाना तिर्नुपर्ने हुन्छ’, उनले भने। 

उदाहरणका लागि यदि कुनै ‘ए’ नाम गरेको कम्पनीको चुक्तापुँजी १ करोड रुपैयाँ छ। उसले नेप्सेसँग गरेको सम्झौताअनुसार तोकिएको अवधिभित्र वित्तीय विवरण र महत्वपूर्ण सूचना तथा जानकारी पेस नगरेको खण्डमा दैनिक ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। 

अहिलेको व्यवस्थालाई अटेर गर्दै थुप्रै कम्पनीहरुले तोकिएको अवधिमा महत्वपूर्ण सूचना तथा जानकारी र वित्तीय विवरण नेप्सेमा अपलोड नगर्दा आमलगानीकर्ता त्यस्ता कम्पनीको वित्तीय अवस्था र अन्य सूचना पाउनबाट वञ्चित हुँदै आएका छन्। यही कारणले नेप्सेले दैनिक जरिवानाको व्यवस्था ल्याउन लागेको प्रवक्ता पराजुलीले जानकारी दिए।