काठमाण्डौ । असार अन्तिम सातादेखि साउन पहिलो सातासम्ममा निकै ठूलो नाफा लिएर सेयर बिक्री गरेका संस्थागत(ठूला) लगानीकर्ताको चलखेलका कारण पूँजीबजारमा सोमबार पुनः ठूलै  पहिरो गएको छ । 

ठूला लगानीकर्ताहरुले सेयर बिक्री गरी ठूलो पूँजी हातमा लिएर बसे पनि सुनियोजित रुपमा बजार घटाउने चलखेल गरेका कारण हराभरा हुनुपर्ने महिना भदौमा समेत सेयरका सूचकहरु राताम्मे हुन थालेका हुन् । 

ठूला लगानीकर्ता सुनियोजित रुपमा बजार घटाउने र निकै तल पुगेपछिको अवस्थामा सेयर खरीद गर्ने दाउ हेरेका कारण साना लगानीकर्ताहरुको जहाज डूब्ने अवस्था सिर्जना भएको छ । 

ठालूहरुको यस्तै चलखेल पूँजीबजारमा समेत प्रतिबिम्बित भइरहेको छ । यो साता आइतबारदेखि नै ओरालो लाग्न थालेको पुँजीबजार सोमबार झनै ठूलो अंकले झर्यो । सोमबार बजारमा २.२८ प्रतिशतको करेक्सन देखिएको छ, अर्थात नेप्सेमा ३९.३१ अंकको पहिरो गई १६८३.१२ अंकमा झरेको हो । 

बजारको एक समूहको सूचकमा तेहेरो अंक र बाँकी सबै सूचकमा दोहोरो अंकको पहिरो गयो । होटल र जलविद्युत समूहमा सबैभन्दा ठूलो पहिरो गयो । होटल समूह ३.८ प्रतिशतले तल झर्यो भने जलविद्युतमा ३.६४ प्रतिशतको करेक्सन देखियो । बिमा समूहको सूचक २२१.६ अंकले घट्यो भने वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः ३२.८६, ४०.६३ र २०.८३ अंकले तल झरे । 

उत्पादनमूलक २९.१९ अंकले घट्दा अन्य समूहमा २१.११ अंकको गिरावट देखियो । 

'क' वर्गका कम्पनीहरुको सेयर खरीदमा आकर्षण घटेका कारण सेन्सेटिभ इण्डेक्स ८.२५ अंकले घट्यो । यसैगरी, फ्लोट इण्डेक्समा पनि २.९१ अंकको गिरावट देखियो । 

आइतबारको तुलनामा सोमबार कारोबार रकम भने केही बढेको छ । १ सय ४० कम्पनीका कुल ११ लाख ९० हजार ४ सय ३१ कित्ता सेयर ८६ करोड १९ लाखमा किनबेच भएको हो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार बिहान मात्र आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै १२ करोड ९७ लाखको सेयर कारोबार भयो । कारोबार बढी भए पनि इन्भेष्टमेन्ट बैंकको सेयरको मूल्य भने खासै बढेको देखिएन । नेपाल बंगलादेश बैंकको ५ करोड १० लाख, नेपाल बैंक लिमीटेडको ४ करोड ७६ लाख, हिमालयन जनरल इन्स्योरेन्सको ३ करोड ८१ लाखको कारोबार भयो । सोमबार धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा ८ स्थान वाणिज्य बैंकले ओगटे भने बाँकी २ स्थानमा बिमा समूहको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउनेहरु
सोमबार बजारमा दोहोरो अंकको पहिरो गए पनि सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो । हाम्रो विकास बैंकका लगानीकर्ताको सम्पत्ति समेत सोही हाराहारीमा वृद्धि भयो । रिलायवल माइक्रोफाइनान्स बित्तीय संस्था र राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्यमा क्रमशः ५.९५ र ४.०३ प्रतिशतको बढोत्तरी देखियो । 

सोमबार सबैभन्दा धेरै जेबिल्स फाइनान्सको सेयर मूल्य घटेको छ । यो कम्पनीको सेयर मूल्यमा ८.७ प्रतिशतले गिरावट आयो । यसैगरी, अपी पावर कम्पनीको सेयर मूल्य पनि करिब ९ प्रतिशतले तल झर्यो । यस्तै, बोटलर्स नेपाल(तराई) लिमीटेड, अरुण हाइडोपावर कम्पनी, एसबीआई बैंक लगायतका कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले तल झरेको छ ।