काठमाण्डौ । लगातार घटिरहेको बजारले लगानीकर्तालाई बुधबार थोरै राहात दिलाएको छ । 

निरन्तर घटिरहेको बजारमा बुधबार २.४६ अंकको झिनो बढोत्तरी देखिएको हो । 
बजारमा सामान्य करेक्सन भएसँगै चार समूहमा हरियो पोतिएको छ भने रातो पोतिएका(घटेका) समूहमा समेत झिनो अंकको मात्र गिरावट देखिएको छ । 

कारोबार रकम  पनि करिब ८२ करोड रुपैयाँको उचाईमा पुगेको छ। 

५० प्रतिशत भन्दा बढी कारोबारमा वाणिज्य बैंकहरुकै होल्ड रहन पुगेको छ । बुधबार बिमा समूहको कारोबार पनि बढेर २१ करोड माथि पुगेको छ । 

आइतबारदेखि दोहोरो अंकले घटिरहेको वाणिज्य बैंक ०.२ अंकको झिनो गिरावट मात्र भोग्यो । विकास बैंक ६.३९ अंक र जलविद्युत समूह ०.५१ अंकले घट्यो । 

बाँकी सबै समूह उक्लिए । होटल समूह २.०१ अंकले बढ्दा बित्त समूह १.१७ अंकले बढ्यो । बिमा समूह १०५.०८ र अन्य समूह १.१६ अंकले उक्लिए । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार सबैभन्दा धेरै कारोबार माछापुच्छे बैंकले गर्यो । यो बैंकको ६ करोड ३७ लाखको सेयर किनबेच भयो । शिखर इन्स्योेरेन्सले ६ करोड २० लाख,  जनता बैंकले ४ करोड, एभरेष्ट बैंकले ३ करोड ५७ लाख, एनबी बैंकले ३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोडको कारोबार गरे । मेगा बैंकले २ करोड ७६ लाखको कारोबार गर्यो भने बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडको २ करोड ६० लाख, कुमारी बैंकको २ करोड ५६ लाख र नेपाल लाइफको २ करोड ५४ लाख बराबरको सेयर किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र सिभिल बैंकले १० प्रतिशतको हाराहारीमा सेयर मूल्य बढाए । मेगा बैंकको सेयर मूल्य पनि ८.४० प्रतिशतले वृद्धि भयो । सिर्जना फाइनान्सको सेयर मूल्यमा पनि ६ प्रतिशतको बढोत्तरी भयो । 

बजार झिनो अन्तरले माथि उक्लिए पनि राप्तिभेरी विकास बैंकका लगानीकर्ताले भने ५ प्रतिशतले सम्पत्ति गुमाउन पुगे । एनएमबी सुलभ फण्ड १ को सेयर मूल्य पनि ४ प्रतिशतको हाराहारीमा घट्यो ।