– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चुनावको मुखैमा नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स दिन लागेको छ। 

नियमावली नै संशोधन गरेर लाइसेन्स दिन लागेको सेबोनले अर्थ समितिका साथै निर्वाचन आयोगले पनि लाइसेन्स वितरणको सम्बन्धमा स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगको पत्रको प्रतिउत्तर पठाइसकेको सेबोनले अर्थ समितिले पत्र काटेको एक महिना बित्दा पनि अहिलेसम्म उक्त पत्रको प्रतिउत्तर भने पठाएको छैन।

निर्वाचन आचारसंहिता सुरु भइसकेकाले नियमविपरीत आवेदन खुलाइएको भन्दै निर्वाचन आयोगमा गत असोज २८ मा लाइसेन्स प्रक्रिया रोक्न उजुरी परेसँगै आयोगले सेबोनका साथै अर्थ मन्त्रालयलाई पनि स्पष्टीकरण सोधेको थियो। आयोगले पठाएको पत्रमा ‘३ दिनभित्र नयाँ लाइसेन्स वितरणको प्रक्रिया किन नरोक्ने भन्ने सम्बन्धमा चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न’ भनिएको थियो। आयोगले स्पष्टीकरणको लागि दिएको समयावधिभित्र नै सेबोनले प्रतिउत्तर पठाइसकेको छ।

सेबोनले आयोगमा पठाएको पत्रमा सेबोनले निर्वाचन आचारसंहिता लागू हुनुअघि नै लाइसेन्सका लागि आह्वान गरेको उल्लेख गर्दै निर्वाचन आचारसंहिताले लाइसेन्स वितरण प्रक्रिया नरोकिने उल्लेख गरेको छ। सेबोनले पठाएको प्रतिउत्तरमा लाइसेन्स वितरण सेबोनको नियमित कार्य हुनुका साथै वार्षिक नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख छ। तर, निर्वाचन आयोगले पत्र काटेको ३ दिनभित्रै त्यसको प्रतिउत्तर पठाएको बोर्डले अर्थ समितिको अहिलेसम्म प्रतिउत्तर पठाएको छैन।

अर्थ समितिमा नेप्से कर्मचारी संघ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले दिएको उजुरीमा आवश्यक छलफल नै नगरी नियमावली नै संशोधन गरेर दोस्रो स्टक एक्सचेन्जको र नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागिएको विषय उल्लेख गर्दै लाइसेन्स वितरणसम्बन्धी कार्य रोक्न आवश्यक कारबाही अगाडि बढाउन भनिएको छ। उक्त उजुरीका आधारमा नै समितिले ७ दिनभित्र विस्तृत विवरण पठाउन गत भदौ ३१ मा नै सेबोनलाई निर्देशन दिएको थियो।

प्रतिनिधिसभा विघटन भएसँगै समितिले अहिले विवरण संकलन गर्ने र नयाँ आउने अर्थ समितिले उक्त विषयमा थप छलफल गर्ने जनाएको थियो। तर, सेबोननिकट स्रोतका अनुसार समितिले पत्राचार गरेको एक महिना बित्दा पनि सेबोनले उक्त पत्रको प्रतिउत्तर भने पठाएको छैन।