काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् । 

कोहलपुर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा तथा २५ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । भर्चुअल माध्यमबाट बोल्दै ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफुहरुले निरन्तर पहल गरेको जानकारी दिए ।   

उद्योग व्यवसायमा थुप्रै  चुनौती रहेको र समाधानका लागि सरकारलाई पनि बारम्बार आग्रह गरेको बताउँदै ढकालले भने,‘पछिल्लो समय ट्रंक तथा डेडिकेटेड लाइनको महशुल विवादले उद्योगीहरु समस्यामा छन् । उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’

निजी क्षेत्र सम्मिलित आयोग बनाई समाधानको बाटो  निकाल्नुपर्नेमा उनले जोड दिए ।  

विद्युतको अहिलेको समस्याले रोजगारी र राजस्वमा असर पारेकाले लाइन जोड्न र थप नकाट्न ढकालले सरकारलाई आग्रह गरे । 
अध्यक्ष ढकालले युवाहरुको विदेश पलायनले रेमिट्यान्स भित्रिएको तर उपभोग भने नबढेकाले समस्या सिर्जना भएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।  

देशमा हालसम्मकै उच्च विदेशी विनिमय संचिति रहेको र रेमिट्यान्स पनि अत्यधिक भएको तथा बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त रहेकाले लगानीको वातावरण बनाउन सरकार लागि पर्नुपर्ने ढकालले बताए ।  । यसका लायि महासंघले सातै वटा प्रदेशमा लगानी सम्मेलनको योजना पनि अगाडि सारेको ढकालले जानकारी दिए ।