काठमाण्डौ। नेपाल उद्योग परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ। 

बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो। 

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे। उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवर्द्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए। 

‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ’, अग्रवालले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त सम्भावना छ।’

छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरुको बेलायती बजारमा प्रवर्द्धनका लागि आफूले काम गर्ने बताए। उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफीजस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुहरुमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवर्द्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। 

बेलायतले नेपालजस्ता देशहरुमा आर्थिक तथा सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै आचार्यले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए। उनले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे। ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ’, उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ।’ 

नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने आचार्यको भनाइ थियो। 

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए। नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ थियो। 

यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवर्द्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे। उनीहरुले बेलायतमा नेपाली उत्पादन प्रवर्द्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए। बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि उनीहरुको जोड थियो।