काठमाण्डौ। विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

ग्लोबल इकोनोमिक प्रस्पेक्टस् सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदरमा यस्तो प्रक्षेपण गरेको हो। दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर तेस्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण छ। 

विश्व बैंकका अनुसार सबैभन्दा धेरै भारतको ६.९ प्रतिशतले आर्थिक वृद्धि हुनेछ। त्यसपछि बंगलादेशको ५.९ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको अनुमान छ।

यसैगरी भुटानको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा कायम रहने र पाकिस्तानको २ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण छ। यसबाहेक श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्मक स्थितिमा जाने बताइएको छ। यसबाहेक माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशतमा रहने प्रक्षेपण गरिएको छ।

आन्तरिक मागहरु घटेका कारणले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसतमा रहने विश्व बैंकले जनाएको छ। भारत, बंगलादेश र नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सामान्य हिसाबले अघि बढ्ने र भुटानको वृद्धिदर उत्साहजनक नै रहने अनुमान गरिएको छ। 

विश्व अर्थतन्त्रमा भने गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपण पनि विश्व बैंकले गरेको छ। सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ। विश्व बैंकले ६ महिना अगाडि विश्व अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो।