काठमाण्डौ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन्।

मन्त्रालयमा आज मन्त्री भुसाल र राजदूत भोल्कबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको छ। 

भेटमा मन्त्री भुसालले अस्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सोहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन्। उनले विश्वले सामाना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौती बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको बताइन्। 

नेपाल–अस्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। 

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अस्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाइन्। उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न अस्ट्रेलिया इच्छुक रहेको उल्लेख गरिन्।

राजदूत भोल्कले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताइन्। उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने बताइन्। 

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनबीच सन् २०१७ मा समझादारी भएको थियो। सम्झौताअनुसार रिसर्च अर्गनाइजेसन र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ।