काठमाण्डौ ।नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । 

नेपाल भ्रमणमा रहेको इन्टरनेशनल को-अपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एशिया (आईकोसा) सँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन्

नेपालमा जलविद्युत्, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गर्नुभएको हो ।

आईकोसाका अध्यक्ष डा कुरोसे नावुहिरो सहितको प्रतिनिधीमण्डलसँग अध्यक्ष मल्लले भने, ‘नेपाल र जापान बीच आर्थिक र कुटनीतिक तवरले उच्चस्तरीय सम्वन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यसमेत हो । जलविद्युत्, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहलसमेतगर्ने छौं, ।’

उनले नेपालमा अन्तरराष्ट्रिय लगानीका लागि लगानी बोर्डमार्फत् कानूनी सुनिश्चितता भइरहेकोसमेत बताए ।नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ति पनि सस्तो रहेको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ ।

अध्यक्ष मल्लले जापानी प्रविधि भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको पनि बताए ।

यसैगरी, आईकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सवैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ ।

नेपालमा जलविद्युत, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने पनि उनले बताए । उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तब्य भएको भन्दै सम्भावना युक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासन समेत दिए ।