काठमाण्डौ । अर्थमन्त्री  डा. युवराज खतिवडाले नेपालमा बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको औँल्याएका छन् ।

विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन अर्थमन्त्री खतिवडाले विश्व बैंकको ट्रेजरी हेर्ने उपाध्यक्षलगायतको उच्च पदाधिकारीहरुसँगको भेटमा नेपालको पूँजीबजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको बताए। बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी भएका अर्थमन्त्री खतिवडाले नेपालको अर्थतन्त्रको सम्भावनाबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न आग्रह गरे।

अर्थमन्त्री खतिवडाले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा जोड दिए। उनले पूर्वाधार विकासका लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराए।

अर्थमन्त्री खतिवडाले दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताका रुपमा सहभागिता पनि जनाए। उनले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ पक्ष, सवारीसाधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानकोस्तर, सवारीसाधनको परीक्षण र यातायात क्षेत्रको नियमनजस्ता विषयमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए।

युरोमनी पत्रिकासँगको एक अन्तवार्ताका क्रममा अर्थमन्त्री खतिवडाले निजी लगानीकर्तालाई नेपालमा लगानी गर्दा जोखिमको यथार्थ विश्लेषण गर्न सहयोग पुर्याउन र लगानीमा जोखिमबापत बढी प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिट रेटिङ गर्ने कार्य सुरुगरिसकेको जानकारी गराए। त्यस्तै विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रमबजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने सम्भावित प्रतिकुलता सामना गर्नुपर्नेतर्फ सजग रहेको जानकारी दिए।

अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तर्राष्ट्रिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा उनले जोड दिए।

अर्थमन्त्री खतिवडाले ब्रिटेन उड्स बाहिरका बहुपक्षीय संस्थाहरुजस्तै डब्लूटीओ तथा यूएनसीटीएसँग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएका विद्यमान समस्याहरु हल हुने उल्लेख गरे।

अर्को प्रसंगमा अर्थमन्त्री खतिवडाले दुईपक्षीय व्यापार र लगानीका सम्झौताहरुले क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार तथा लगानीसम्बन्धी भइरहेका समझदारी र सम्बन्धित बहुपक्षीय संस्थाहरुलाई कमजोर पार्न नहुने उल्लेख गरे। उनले दुईपक्षीय पहलहरुक्षेत्रीय र अन्तर्राष्ट्रिय आर्थिक सहयोगको परिपुरक भूमिकामा देखिनुपर्दछ भन्नेमा जोड दिए।

अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एक उच्चस्तरीय कार्यक्रममा सहभागी हँुदै दक्षिण एसियाली मुलुकहरुले जनसांख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको उल्लेख गरे। त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्षलगायतको उच्चस्तरीय पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री खतिवडाले नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समीक्षा गर्दै आगामी वर्षहरुमा बैंकसँगको सहयोग विस्तारका सम्भावना र नेपाल सरकारको विकास प्राथमिकताका बारेमा छलफल गरे। बेलायती सहयोग संस्थाका स्थायी सचिवसँगको भेटमा बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै अर्थमन्त्री खतिवडाले आगामी दिनमा परिचालन हुने थप सहयोगका क्षेत्रहरुमा चर्चा गरेका थिए।

विश्व बैंकका दक्षिण एसीया हेर्ने उपाध्यक्ष हाटर्विक सेफरसहितको उच्च तहका पदाधिकारी सम्मिलीत बैठकमा नेपालमा बैंकको सहयोगमा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा भयो । साथै पोर्टफोलियो कार्यान्वयनको गुणस्तर बढाउन आयोजना कार्यान्वयनमा थप जोड दिनुपर्ने तथा उर्जा, यातायात, रोजगारी, कृषिउद्यम, पर्यटन, सहरी पूर्वाधार विकास र संघीयता कार्यान्वयनका क्षेत्रमा थप सहायता परिचालनगर्न विश्व बैंक सकारात्मक भएको बताइएको थियो । 

त्यस्तैगरी क्षेत्रगत नीति सुधारमा आधारित बजेट सहायता परिचालन बढाउन ऊर्जा, वित्तीय क्षेत्र सुधार र संघीयतामा आन्तरिक स्रोत परिचालनलाई प्रभावकारी बनाउने गरी थप तीन क्षेत्रमा बजेटरी सहायता परिचालन गर्न विश्व बैंक समूहले काम सुरु गर्ने समझदारी भएको छ ।