काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अर्थ मन्त्रालयमा आज नाडा प्रतितिनिधिमण्डलसँगको छलफलमा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन्। ‘नेपालमै अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह गर्छु’, उनले भने, ‘त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारले सहयोग गर्नेछ।’

अर्थमन्त्री पौडेले नेपालको अटोमोबाइल क्षेत्रमा व्याप्त समस्या सरकारसमक्ष प्रस्तुत गर्न पनि सुझाव दिए। ‘ती समस्या छलफल गरी समाधान गर्न सरकार प्रतिबद्ध छ’, उनले भने।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको भन्दै सवारीसाधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे आफ्नो धारणा राखेका थिए। उनले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गरिदिन आग्रह पनि गरे। 

नेपालमा लोकलमा उत्पादित अटोमोबाइल स्पेयर पार्टस तथा लुब्रिकेन्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुब्रिकेन्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि पनि दुलालले आग्रह गरे। उनले आउँदो मोद्रिक नीति अटोमोबाइल व्यवसायीमैत्री आउने आशा पनि व्यक्त गरे। 

छलफलमा नाडाका उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारीसाधनको आयात नेपाल राष्ट्र बैंकले सवारीसाधनहरुको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापका कारण आर्थिक बर्ष २०७३/७४ देखि नै सवारीसाधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिए। त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको उनले बताए। 

छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने बिल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए। 

छलफलमा नाडाका सचिव अनुप बराल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो।