काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी)लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन्। 

एडीबीका उपाध्यक्ष अशोक लाभाशासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए। ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ’, उनले भने। 

शर्माले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए। नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको उल्लेख गर्दै उनले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पित ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे। 

नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकोले एडीबीको सहयोग अझै वृद्ध गर्न पनि शर्माले आग्रह गरे। कोभिड महामारीको बेला एडीबीले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यवाद दिए। 

एडीबीका उपाध्यक्ष अशोक लाभाशाले एडीबीले  नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए। अर्थमन्त्री शर्माको मार्गदर्शनअनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको उनले बताए।  

अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने पनि लाभाशाले बताए।