काठमाण्डौ । बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौती रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका छन्। 

काठमाण्डौको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताएका हुन्। १० वर्षअघि पनि नेपाल भ्रमणमा आएको स्मरण गर्दै पूर्वगभर्नर कुरोदाले यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको बताएए। ‘पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु तर यहाँ आर्थिक विकासको अझै प्रचूर सम्भावना छ’, उनले भने। 

नेपालको अर्थतन्त्रका तीनवटा क्षेत्रमा आफूले सम्भावना देखेको कुरोदाले बताए। नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै उनले यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने जिकिर गरे। 

नेपालमा अझै धेरै चुनौती रहेको उल्लेख गर्दै कुरोदाले नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताए। 

नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्रीहरु, राजनीतिक नेताहरु एवं सरोकारवालाहरुसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको कुरोदाले जानकारी दिए। नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने पनि उनले औँल्याए। 

जापानमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) र ऋणको अनुपात २६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको कुरोदाको भनाइ थियो। ‘तर नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्छ’, उनले भने, ‘जापानको चालु खाता ठूलो नाफामा छ। यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ। मेरो विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ। ऋण नै लिनुपर्ने अवस्था भए पनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ।’ 

पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुसी भएको बताए। उनले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गरे। 

राजनीतिक नेतृत्वको ध्यान आर्थिक वृद्धि तथा युवाहरुको विकास एवं रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै लोहनीले नेपालमा सूचना प्रविधिजस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर यस क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिए।