काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) मा आबद्ध भएको छ। 

यस  सम्बन्धमा हालैमात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

उक्त सम्झौतापश्चात प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस(एनपीआई)सँग जोडी विभिन्न भुक्तानीहरुमध्ये तलब, भेन्डर भुक्तानी, लगानीलगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ।  

बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीका माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले झन टेवा पुर्याउने विश्वास गरिएको छ। नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, निरीक्षण र सुपरिवेक्षण गर्ने नियामक निकायका रुपमा रहेको नेपाल बीमा प्राधिकरणले सधैँ सेवाको प्रभावकारिता बढाउन डिजिटल माध्यमको प्रयोगलाई जोड दिँदै पहल कदमी भूमिका निभाउँदै आएको छ। 

यसअघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएस प्रणालीमार्फत हुने व्यवस्था गरेको थियो र आगामी दिनमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने १५ बीमा कम्पनीका साथै अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ९० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।