– अर्जुन तिमिल्सिना

काठमाण्डौ । जीवन बीमा व्यवसाय क्षेत्रमा अब्बल कम्पनीका रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ। 

यो कम्पनी चुक्तापुँजी, जीवन बीमा कोष तथा लाभांश इतिहासका हिसाबले अन्य कम्पनीको तुलनामा अग्रस्थानमा देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख रहेको छ। कम्पनीको रिजर्भमा ८६ करोड ९६ लाख रुपैयाँ रहेको छ। जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको प्रथम त्रैमाससम्म कुल बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड र दाबी भुक्तानी ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ। 

कम्पनी प्रतिसेयर नेटवर्थ १२०.८५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८४६ रुपैयाँ रहेको छ। 

विगत ८ वर्षमा कम्पनीको औसत लाभांश दर ६४.४३ प्रतिशत रहेको देखिन्छ। कम्पनीले हालसम्म हकप्रद जारी गरेको छैन।

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ। 

यसमा ५ वेभ हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ बजार तल जाने संकेत गर्छन्। 

नेपाल लाइफको हालको चार्टलाई अध्ययन गर्दा कम्पनीको सेयर मूल्यले विभिन्न समयमा उतारचढाव गरेको पाइन्छ। यो न्यून विन्दुलाई आधार मानेर हालसम्मको मूल्यलाई चार्टका आधारमा विश्लेषण गर्दा वेभ १ मा १६०० रुपैयाँसम्म पुगेको देखिन्छ। त्यसैगरी वेभ २ मा पुनः करेक्सन भएर १४८९ रुपैयाँसम्म आएको देखिन्छ। वेभ ३ जुन सबैभन्दा ठूलो र लामो हुने गर्छ, यसअन्तगर्त यो कम्पनीको सेयरमूल्य बढेर पुनः १८२२ रुपैयाँसम्म पुग्नसक्ने देखिन्छ। हाल सोही चक्रअन्तर्गत यो कम्पनीको सेयरभाउ वेभ ४ अन्तर्गत १६४८ रुपैयाँसम्म आएको देखिन्छ। 

अब इलिअट वेभको सिद्धान्त र फिवोनासी एक्सटेन्सनलाई मिलाएर हेर्ने हो भने कम्तीमा २.६१ प्रतिशतको वृद्धिलाई लिँदा यो कम्पनीको सेयरमूल्य अहिलेको मूल्यबाट आगामी ६ महिनाभित्र लगभग २००० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा १६८० रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा १६०८ रुपैयाँ, ०.५ प्रतिशतको टेवामा १५३८ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवामा १४६७ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही गत जनवरी २५ मा  एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियारस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सग्निल भर्खर बनेको छ र हिस्टोग्राम नेगेटिभ तथा लामा–लामा हुँदै गएका  छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्यमा सामान्य करेक्सन हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले मध्य ब्यान्डलाई छोएको छ र रातो मारुबुजु क्यान्डलहरु बनेका छन्। यदि आगामी दिनमा यो कम्पनीको सेयर मध्य ब्यान्डभन्दा माथि नै रहन्छ भने माथिल्लो ब्यान्डलाई छुन माथिको यात्रा तय गर्नेछ। यदि मध्य ब्यान्डबाट तल झर्छ भने तल्लो ब्यान्डलाई छुन केही समय करेक्सन हुन सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई  ५२ मा रहेको छ। यो भनेको न्युट्रल जोनमा रहेको भन्ने बुझिन्छ। अघिल्लोपटक यो न्यून  विन्दु १३.२७ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ८०.४२ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा केही करेक्सन भएर बढ्न सक्ने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो कम्पनीको हामीले आओरली बेसका आधारमा पिभट विन्दु निकालेका छौँ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १८०४
  • प्रतिरोध २– १८६४
  • प्रतिरोध ३– १९१९

पिभट प्वइन्ट : १७४९

घटेमा सपोर्ट 

  • सपोर्ट १– १६८९
  • सपोर्ट २– १६३४
  • सपोर्ट ३– १९१९

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वास्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि भने सिफारिस होइन।