काठमाण्डौ । नेपाल एग्रो लघुवित्तको आइपीओको बाँडफाँड मंगलबार बिहान हुने भएको छ । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडका इन्भेष्टमेन्ट बैंकिंग हेड रमेश बेल्बासेअनुसार मंगलबार बिहान ९ बजे हात्तीसारस्थित क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरिनेछ । 

उता, गणपति माइक्रोफाइनान्सको आइपीओ भने बिहीबार वा शुक्रबार बाँडफाँडको तयारी भइरहेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार गणपतिको प्रि अलटमेन्ट मंगलबार हुनेछ । 

यी दुवै कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएका झण्डै ६ लाख लगानीकर्ताको हात रित्तो हुने देखिएको छ । 

नेपाल एग्रो लघुवित्तको आइपीओमा देशभरबाट ३ लाख २० हजार ८०४ आवेदकले ६५ लाख ४२ हजार ४४० कित्ताका लागि र गणपति माइक्रोफाइनान्समा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन् । 

यो हिसाबले गणपति माइक्रोफाइनान्सको आइपीओमा मागेभन्दा २१.५५ गुणा बढी आवेदन परेको छ । यसरी हेर्दा यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिनेमध्ये २ लाख ९७ हजार भन्दा बढी रित्तो हात हुनेछन् । 

यो कम्पनीको सेयर १० कित्ताको दरले कुल ३१ हजार ३०७ जनाले मात्र पाउनेछन् । 

बैशाख ९ गते(सोमबार)बाट यो कम्पनीले निश्कासन गरेको आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म आवेदन दिने समय थियो ।

यो कम्पनीले प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गरेको हो ।

कुल निश्कासन हुने कित्तामध्ये ५ हजार १७५ कम्पनीका कर्मचारीका लागि, १६ हजार ७५० म्युचुअल फण्डहरुका लागि र बाँकी रहने ३ लाख १३ हजार ७५ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

उता, नेपाल एग्रो लघुवित्तको आइपीओमा ३ लाख २० हजार ८०४ जनाले ६५ लाख ४२ हजार ४४० कित्ता खरीदका लागि आवेदन दिएका छन् । यो भनेको मागको तुलनामा ४३.२७ गुणा बढी आवेदन हो । 

यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये १५ हजार १२० जनाले १० कित्ताको दरले सेयर पाउनेछन् । बाँकी ३ लाख ५ हजार ६०० भन्दा बढी आवेदकको हात रित्तो हुनेछ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको थियो । कम्पनीले निश्कासन गरेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।