काठमाण्डौ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरणको प्रस्ताव गरेका नेपाल एसबीआई बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सले ६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको नेपाल एसबीआई बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३६१.३२ रुपैयाँ कायम गरेको छ । त्यस्तै १६.१५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको गरिमा विकास बैंकको सेयरमूल्य समायोजन गर्दै नेप्सले प्रतिकित्ता १९२.८५ रुपैयाँ कायम गरेको छ ।

नेपाल एसबीआई बैंकले यही मंसिर २९ गते गर्ने आफ्नो २६ औँ वार्षिक साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६.८४ प्रतिशत लाभांश पारित हुनेछ । बैंकले ६ प्रतिशतले हुन आउने ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँबराबरको बोनस सेयर र १०.८४ प्रतिशतले हुन आउने ९१ करोड ६० लाख ७६ हजार ६३६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी गरिमा विकास बैंकले यही मंसिर २७ गते गर्ने आफ्नो १३ औँ वार्षिक साधारणसभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १७ प्रतिशत लाभांश पनि अनुमोदन हुनेछ । प्रस्तावित लाभांशमा चुक्त पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार ९९६.७८ रुपैयाँको १६.१५ प्रतिशत हुन आउने ४५ करोड ३ लाख २१ हजार ४३१.४८ रुपैयाँबराबरको बोनस सेयर र ०.८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख १ हजार १२७.९७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

साधारणसभा प्रयोजनार्थ दुवै बैंकले आज शुक्रबारदेखि बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो बिहीबारसम्म सेयरधनी कायम भएकाहरुमात्र बोनस सेयरको भागिदार र साधारणभामा भाग लिन योग्य हुनेछन् ।