काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ ।

बैंक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि बिहीबारदेखि बुक क्लोज गर्दैछ । यसको मतलब आज बुधबारसम्म कायम सेयरधनीहरुमात्र लाभांशको हकदार र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा आगामी पुस७ गते काठमाण्डौको राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरेको छ ।

सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १२ प्रतिशत लाभांश पारित हुनेछ । जसमा ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन् ।

यसैगरी सभामा मर्जर प्रक्रिया थाल्ने मुख्य अजेन्डाका रुपमा प्रस्तुत गरिनेछ । बैंकमा कुनै बैंक वा वित्तीय संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सहमति/सम्झौता गर्ने तथा सो सम्बन्धमा प्रचलित कानुन तथा नियमअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय सभामा पारित हुनेछ ।