काठमाण्डौ । नयाँ  वर्ष २०७५ को पहिलो बनेको नेपाल सेवा लघुवित्त  बित्तीय संस्थाको आइपीओमा थामिनसक्नु आवेदन परेको छ । 

यो लघुवित्तले सर्वसाधारणका लागि  बुधबारदेखि बिक्री खुलाएको १  लाख६४ हजार कित्ता आइपीओका लागि पहिलो २ दिनभित्र ९२ हजार ७ सय ६० आवेदकबाट ६० लाख २९ हजार बढीको प्रस्ताव परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलकी प्रवक्ता स्मृति महर्जनले जानकारी दिइन् ।

यो कम्पनीले १ लाख ८० हजार कित्ता आइपीओको बिक्री खुलाएको भए पनि ३ हजार ६ सय कित्ता सोही संस्थाका कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ९ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

नेपाल सेवा लघुवित्तले बुधबारदेखि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको हो । बैशाख १६ सम्म आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । 

एकसय रुपैयाँँ अकिंत दरका शेयर न्युनतम ५० कित्ताबाट आवेदन गर्न पाइनेछ । यसको अर्थ साथमा ५ हजार रुपैयाँ भएका सर्वसाधारणले समेत आवेदन गर्न पाउनेछन् ।

अधिकतम ९ सय कित्तासम्म आवेदन दिनसक्ने  व्यवस्था गरिएको भए पनि ५ हजार रुपैयाँ मात्र आवेदन गर्नु बुद्धिमानी हुने देखिन्छ ।  पुगेसम्म न्यूनतम १० कित्ता प्रत्येक आवेदकलाई बाँडफाँट गर्नैपर्ने धितोपत्र बोर्डको निर्देशन भएकाले ५ हजारभन्दा बढीको आवदेन गर्ने आवेदकलाई पनि १० कित्ताभन्दा धेरै शेयर पर्ने संभावना छैन ।  

लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको हो । 

शेयर खरीदका लागि आवेदन दिन इच्छुक लगानीकर्ताले विक्री प्रबन्धकका साथै सी–आश्वा सेवा मार्फत् आफ्नो बैंक खाता रहेको वित्तीय संस्थामा गई आवेदन दिन सक्नेछन् । यसका साथै सबै प्रक्रिया पूरा गरी मेरो शेयरमा दर्ता भएका लगनीकर्ताले घरमै बसीबसी मेरो शेयरको अनलाईन पोर्टलमा गई आवेदन दिन सक्नेछन् । 

संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरी ४ करोड २० लाख चुक्ता पूँजी बनाएको लघुवित्तको आइपीओ पछि ६ करोड चुक्ता पूँजी पुग्नेछ । लघुवित्तले सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठवटा वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।