काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सेयर कारोबार भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार आज बुधबार फुकुवा गर्ने निर्णय गरेको हो। नेप्सेको यो निर्णयसँगै भोलिबाट यो बैंकको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको हो। 

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल आपसमा मर्जर भएर पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ। सोही दिनबाट यो बैंकको सेयर कारोबार रोक्का गरिएको थियो। नेपाल धितोपत्र बोर्डको मर्जर निर्देशकाबमोजिम एकीकृत कारोबार सुरु हुने मितिबाट बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बैंकको सेयर कारोबार रोक्का रोकिएको थियो। 

नेप्सेमा मर्जर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाममा १०० अंकित दरका कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता सेयर सूचीकृत भएको छ। जसमा साबिक मेगा बैंकको १५ करोड ८ लाख ८७ हजार ५१९ कित्ता सेयर रहेको छ। मेगा बैंकको सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ। 

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंक १ः०.९० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। 

नेप्सेले मर्जरपछि बनेको बैंकलाई ‘एनआईएमबी’ कारोबार संकेत प्रदान गरेको छ। मर्जर प्रक्रिया पूरा भएपछिको पहिलो कारोबारका लागि भने नेप्सेले २३६.८५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।