इटहरी । विश्वप्रसिद्ध अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ। 

व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’को रुपमा सञ्चालनमा आउने भएको हो। रमडाको मातृ कम्पनी विंडहाम होटेल्स एन्ड रिसोर्ट र ग्रान्ड सेन्ट्रल होटेल प्रालिका अध्यक्ष बस्नेतबिच भारतको दिल्लीमा शुक्रबार होटेल सञ्चालनको लागि सम्झौता भएको छ। 

सम्झौतापछि बोल्दै बस्नेतले नेपालको पर्यटन प्रबद्र्धन र होटेल व्यवसायको प्रवर्द्धनमा नयाँ खुड्किलो भएको बताए। उनले रमडा ब्रान्डसँग आफ्नो होटेललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताए। उनले विंडहाम होटेल्स कम्पनिसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन्। 

कार्यक्रममा विंडहाम होटेल्स एन्ड रिसोर्ट युरेसियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले समेत नेपालमा आफ्नो ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकलाई विश्वस्तरीय आतिथ्यता दिने बताए।

निर्माणाधीन पाँचतारे होटेलमा कुल ८ तला छन् भने ८० वटा कोठा छन्। २०२४ को सुरुआतदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटेलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहनेछन्। होटेलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन्।

भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घन्टाको समयमा पुग्न सकिने होटेलले धेरै मात्रामा भारतीय पर्यटकलाई विश्वस्तरीय होटेलको सुविधा दिने दावी गरिएको छ। पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवशायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यावसायिक कार्यक्रमसमेत गर्ने वातावरण होटेलले प्रदान गर्नेछ।

होटेलले १०० जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ।

विंडहाम होटेल्स एन्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्रगतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटेल कम्पनि मानिन्छ। यो अमेरिकी कम्पनीले ९५ देशका ९ हजार बढी होटेलको व्यवस्थापन हेरिरहेको छ। एसियामै मात्र पनि २० वटा देशका १ हजार ६०० बढी होटेल सञ्चालनमा ल्याएको छ। 

नेपालमा एकपछि अर्को स्टार तथा अन्तर्राष्ट्रियस्तरका होटेल तथा रिसोर्ट संचालनमा ल्याइरहेका बस्नेतले हालै मात्र काठमाडौमा निर्माणाधीन पाँचतारे होटेलमा एक्कोर समुहको मक्र्योर ब्रान्ड भित्र्याएका थिए। नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतीको रुपमा नेपालको पर्यटन विकासमा व्यवशायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन्।

यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटेल्स एन्ड रिसोर्ट सञ्चालनमा ल्याउन लागेका छन्। पेसाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्यदूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन्। 

एबी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटेल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन्।