काठमाण्डौ । नेपाल फाइनान्सको ११ लाख कित्ता बढी सेयर असार २९ गतेबाट बिक्रीमा राखिने भएको छ। 

कम्पनीले अवितरित ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ। यो बिक्री हुन बाँकी रहेको संस्थापक सेयर हो। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

यो सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाहरुले खरिद आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा खरिद आवेदन दिनुपर्नेछ। 

लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय, नेपाल फाइनान्सका कमलादीस्थित केन्द्रीय कार्यालय तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत तथा धनगढीमा आवेदन दिन सक्नेछन्। 

आवेदन दिने अन्तिम म्याद साउन १२ गतेसम्म तोकिएको छ।