काठमाण्डौ । नेपाल एसबीआई बैंकले आज साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। 

बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ। 

कुल इकाइमध्ये १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ। 

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषलाई इकाइ छुट्याएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ८ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यही साउन २२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। यो अवधिभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिने म्याद थप हुन सक्छ।

लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। 

नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।