काठमाण्डौ । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ। 

बैंकले गत साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। मागबमोजिम आवेदन नपरेकोले यो ऋणपत्रमा अब साउन ३१ गतेसम्म आवेदन दिने म्याद लम्बिएको हो।

बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ। 

कुल इकाइमध्ये १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ। 

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषलाई इकाइ छुट्याएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ८ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। 

नेपाल एसबीआई बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।