काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँट आगामी बुधबार अर्थात् मंसिर २० गते हुने भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार सम्पूर्ण प्रक्रिया सकेर बुधबार आईपीओ  बाँडफाँट गर्ने तालिका तय भएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरि बाँडफाँट पनि गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले कुल निष्कासनको २ प्रतिशत अर्थात् २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको  छ। 

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँट गर्न लागेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिन बैंकिङ समयसम्ममा १२ लाख ५७ हजार ७५६ जनाको आवेदन परेको छ ।

सीडीएसीका अनुसार  ती आबेदकबाट १ करोड ३६ लाख ४३ हजार ३९० कित्ता सेयर माग भएको छ ।ती आबेदकले १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर माग गरेका हुन् ।

जसअनुसार कम्पनीको आईपीओमा करिब १२ गुणा आवेदन परेको  छ।
मागभन्दा अत्यधिक आबेदन परेकाले कम्पनीले आईपीओ बाँडफाट गोलाप्रथाबाट हुने छ ।