काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निश्चित कम्पनीको सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।

साथै बोडले त्यसो गरेमा धितोपत्र कारोबार सम्बन्धी कसूर गरेको मानेर कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

धितोपत्र बोर्डले शुक्रबार सूचना सार्वजनिक गर्दै विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने  तथा  निश्चित सेयरहरु खरिदबिक्री गर्न तथा खरिदबिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिएर बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा गुनासो तथा उजुरी आएको बताएको छ । 

 साथै उसले यसबारे  गम्भिर ध्यानाकर्षण भएको पनि बताएको  छ।  

यसैगरी, बोर्डले यस्ता अवाञ्छित कार्य गर्ने माथि सुक्ष्म निगरानी  गरिरहेको र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानून बमोजिम कारवाहि गर्ने चेतावनी पनि दिएको  छ।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, सूचनामा भनिएको  छ।

सूचनाको बेवास्ता गरी त्यस्ता कार्यहरु गरे वा गराएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने पनि उसको चेतावनी छ।

साथै उसले  समस्त लगानीकर्ताहरुलाई कसैको उक्साहटमा नलागीकन सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि भनेको छ ।