काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना तीन बचत खाता योजनाबाट बीमा सुविधाको व्यवस्था हटाएको छ ।
बैंकले सञ्चालन गरिरहेको कर्पोरेट बेनिफिट बचत खाता,प्रोफेसनल कर्मचारी बचत खाता र प्रवद्धक बचत खाता योजनाबाट बीमाको सुविधा हटाएको हो । 

बैंकले यी बचत खाता योजनाबाट बचतकर्तालाई प्रदान गर्दै आईरहेको आकस्मिक मृत्यु बीमा तथा स्वास्थ्य बीमाको सुविधा हटाएको हो । 
यी  योजनामा बचतकर्तालाई बैंकले ५० हजार रुपैयाँसम्मको मेडिकल बीमाका साथै ७ लाख रुपैंयाको दुर्घटना बीमाको व्यवस्था गरेको थियो । 

बैंकले यी सुविधा आगामी पुस १६ गतेदेखि बन्द गरिने जानकारी दिएको छ । यसका साथै बैंकले यी बचत खाता योजनाका अन्य विशेषताहरु भने यथावत नै रहने प्रष्ट पारेको छ । 

बैंकले उल्लेखित खाता सञ्चालन गरिरहेका बचकर्ताले खाताको योजना परिवर्तन गर्न चाहेमा बैंकको सम्बन्धित शाखा कार्यालयहरुमा सम्पर्क गरी परिवर्तन गर्न सक्ने जनाएको छ ।