– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल स्टक्स एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आज बुधबारबाट कार्यभार सम्हालेका छन्।
कार्यभार सम्हालेका सीईओ कार्कीलाई आजै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीको टोलीले भेटेर शुभकामना दिँदै बजार विस्तार र सुधारका लागि सुझाव दिएको छ। ‘आजको भेटमा हामीले बुँदागत रुपमा हाम्रा कुरा राख्यौँ। अहिले बजारमा तरलताको समस्या छ। त्यसैले तरलता सहज गर्न अन्य क्षेत्रका कम्पनीहरुलाई सूचीकृत गर्न साथै संस्थागत र व्यक्तिगत लगानीकर्ताहरुको संख्या बढाउनुपर्ने सुझाव दिएका छौँ’, मैनालीले भने।
‘लगानीकर्ताको संख्या बढाउन ब्रोकरहरुको सञ्जाल विस्तार गर्न आवश्यक छ। जसका लागि ब्रोकरका शाखा साथै आधिकारिक प्रतिनिधिहरुको नियुक्ति गरिनुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ’, मैनालीले भने, ‘ब्रोकरको सञ्जाल विस्तार भएमा राजधानी बाहिरको लगानीकर्तालाई पनि सहज हुन्छ।’
मैनालीले नवनियुक्त सीईओ कार्कीलाई बजारमा अन्य औजारहरुको अनुसरण गर्न सुझावसमेत दिएको बताए। ‘इन्ट्राडे कारोबार, डेरिभेटिभ, मार्जिन ट्रेडिङले बजारमा कारोबार बढ्नुका साथै तरलता सहज हुने देखिन्छ’, उनले भने, ‘कार्यविधि बनिसकेकाले यी औजारहरू लागू गर्न सुझाव दिएका छौँ।’
अहिले भएको प्रविधिमा लगानीकर्ता साथै ब्रोकरहरु, बजार पारदर्शिता साथै गोपनीयता सुनिश्चित नभएको कुराहरु उठ्ने गरेको छ। ‘त्यसैले नयाँ प्रविधि ल्याउन एपीआई पोलिसी रोकिएकाले उक्त पोलिसीमा आवश्यक संशोधन गरेर नयाँ प्रविधि ल्याउने बाटो खुलाउनसमेत आफ्ना कुरा राखेको छौँ’, उनले भने।
‘हामीसँग लगानीकर्ता, सूचीकृत कम्पनीका पदाधिकारीका, ब्रोकर, सेबोन, नेप्सेका कर्मचारीहरुका डेटाबेस नभएको अवस्था छ’, मैनालीले भने, ‘उक्त डेटा बेस र प्रविधि हुने हो भने बजारमा हुने गलत क्रियाकलापहरुको समयमै थाहा हुन्छ। त्यसैले डेटा बेस र प्रविधिको आवश्यकता र भूमिकाबारे हामीले सुझाव दिएका छौँ।’
नेपाली सेयर बजारमा सेयर किन्नेले सेयर पाउने र बेच्नेले पैसा पाउने ग्यारेन्टी नभएको अवस्था रहेको उल्लेख गर्दै मैनालीले भने, ‘कसैले बेचेको सेयर दिन नसकेको अवस्थामा सीधै क्लोजआउटमा जाने व्यवस्था रहेको छ। त्यसैले हामीले अक्सन मार्केट र यसको भूमिका र आवश्यकताबारे आफ्नो सुझावहरु राखेका छौँ।’
मैनालीले नवनियुक्त सीईओ कार्कीसमक्ष नेप्सेको निजीकरण साथै अर्धनिजीकरणबारे आफ्नो धारणाहरू राखेको बताए। ‘यसका साथै ब्रोकरहरुको कार्यक्षमता विस्तारका लागि जस्तै: मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी सुझाव पनि दिएका छौँ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago