​– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई लगानीकर्ताहरुका नेताहरुले बजार सुधार र विकासका लागि विभिन्न सुझाव दिएका छन्।

नेप्सेमा आज नवनियुक्त सीईओ कार्कीलाई नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको नेतृत्वमा गएको टोलीले भेटेर शुभकामनासँगै सुझाव दिएका हुन्।

अध्यक्ष ढकालले सीईओ कार्कीलाई नेप्सेको सफ्टवेयर स्तरोन्नति गर्न सुझाव दिएको बताए। ‘पहिले ३ अर्ब कारोबारलाई दृष्टिगत गरी सफ्टवेयर विकास भएको थियो, अब ५० अर्बसम्मको कारोबार धान्न सक्ने गरी सफ्टवेयर विकास गर्न सुझाव दिएका छौँ’, उनले भने।

यसैगरी पुँजी बजारको आकार ठूलो भएकोले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न पनि सीईओ कार्कीलाई सुझाव दिएको ढकालले जानकारी दिए। ‘विशेषगरी बजार सम्बद्ध नीतिहरु ल्याउँदा लगानीकर्ताहरुको सुझाव समेट्न पनि भनेका छौँ’, उनले भने।

अध्यक्ष ढकालले डीपी कमिसन घटाउन पनि विशेष पहल गरिदिन सीईओ कार्कीसँग आग्रह गरिएको जानकारी दिए। ‘हालको डीपी चार्ज २५ रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्न भनेका छौँ’, उनले भने, ‘ब्रोकर कमिसन पनि घटाउनुपर्ने हाम्रो माग सुनाएका छौँ।’

बढ्दो बजारमा विकृतिका रुपमा फैलिइरहेको इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङजस्ता गतिविधिहरु रोक्न आवश्यक कदम उठाउन पनि सुझाव दिइएको इन्भेस्टर्स फोरमका सचिव राजन लम्सालले जानकारी दिए। ‘हाम्रा सुझाव र मागप्रति नवनियुक्त सीईओ कार्की सकारात्मक छन्, आफ्नोतर्फबाट सक्दो सहयोग हुने बताएका छन्’, उनले भने।