– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले पुँजीबजारलाई अझै प्रविधिमैत्री बनाउने प्रतिबद्धता गरेका छन्।
नेप्सेमा पदभार ग्रहण गरेको दोस्रो दिन आफ्नो कार्यकक्षमा बिजशालाकर्मीसँगको संक्षिप्त कुराकानीमा कार्कीले पुँजीबजार अझ प्रविधिमैत्री बनाउने आफ्नो योजना रहेको सुनाएका हुन्। आमलगानीकर्तालाई सहज ढंगले कारोबार गर्ने वातावरण बनाउने खालको नीति निर्माण गर्ने विषयमा आफू प्रतिबद्ध रहेको पनि कार्कीले बताए। ‘पुँजीबजारमा नयाँ अभ्यास गर्ने, बजारलाई समयसापेक्ष बनाउने र प्रविधिमैत्री बनाउने मेरो कार्यकालको मुख्य लक्ष्य हुनेछ’, उनले भने, ‘नेप्सेमा निरन्तर सुधार गर्दै जाने, अहिले देखिएका समस्याहरु समाधान गर्ने र आमलगानीकर्ताको जायज माग सम्बोधन गर्नेछु।’
सीईओ कार्कीले बजारमा हुने गरेका इन्साइडर ट्रेडिङका विषयमा पनि आफू जानकार रहेको बताए। ‘इन्साइडर ट्रेडिङलगायत सबै खालका अवाञ्छित गतिविधि नियन्त्रणको प्रयास गर्नेछु’, उनले भने, ‘पहिला त्यस्ता गतिविधिको स्रोत पहिचान गर्नेछु र नियन्त्रणका लागि आवश्यक कदम उठाउनेछु।’
कार्कीले बजारको विस्तार र विकासका लागि नेपाल धितोपत्र बोर्डमा आउने नयाँ अध्यक्षसँग समन्वय गरेर काम गर्ने बताए। ‘धेरै अधिकार धितोपत्र बोर्डसँग रहेको छ’, उनले भने, ‘त्यसैले धितोपत्र बोर्डसँग समन्वय गरेर पुँजीबजार विकास र विस्तारका बाँकी कामहरु पूरा गर्नेछु।’
ब्रोकरहरुले ल्याउन लागेको नयाँ प्रविधिको विषयमा सीईओ कार्कीले नयाँ–नयाँ प्रविधिको विकास र प्रयोगलाई आफूले सधैँ साथ दिने पनि बताए।
आफ्नो कार्यकालमा नेप्सेभित्रैका सहकर्मीहरुले पनि आफूलाई पूर्ण रुपमा सहयोग गर्ने कार्कीको विश्वास छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago