काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले सबै ब्रोकरहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरु समयमै गर्नुपर्ने बताएका छन्। 

धितोपत्र नियमावलीअनुसार ब्रोकरहरुले वार्षिक आम्दानीको १ प्रतिशत रकम सीएसआरअन्तर्गत हुने गतिविधिमा खर्च गर्नुपर्छ। यस्ता गतिविधिले पुँजीबजारमा ठूलो महत्व राख्छ। 

अहिले पुँजीबाजारमा ५० लाखभन्दा बढी लगानीकर्ता रहेको अवस्थामा सेयर शिक्षा झनै आवश्यक रहेको छ। यस्तो अवस्थामा ब्रोकरहरुले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको आफ्नो आम्दानीबाट १ प्रतिशत रकम सेयर शिक्षा र सचेतनाको कार्यक्रममा तदरुकताका साथ खर्च गर्नुपर्नेमा सीईओ कार्कीले जोड दिए। ‘उनीहरुले कमाएका पनि छन्। कमाएकै अम्दानीबाट केही पैसा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च पनि गर्नुपर्छ’, उनले भने, ‘केही ब्रोकरले सेयर शिक्षाका कार्यक्रम गरेका समाचार आएका छन्। बाँकी क–कसले के–के गरेका छन्, म बुझ्छु।’

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले पुँजीबजार सचेतनासम्बन्धी गतिविधि गर्न आवश्यक रहेको र पछिल्लो समय भइरहेको पनि बताए। ‘ब्रोकर कम्पनीहरुले अझै कसरी प्रभावकारी ढंगबाट यस्ता गतिविधि गर्न सक्छन् भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ’, उनले भने। 

कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५) सञ्चालक भरत रानाभाटले पनि आफूहरुले सीएसआरअन्तर्गत पोखरामा सेयर शिक्षा कार्यक्रम गर्ने तयारी गरिरहेको बताए। 

केही समयअघि सनी सेक्युरिटिज (ब्रोकर नं. ४२) ले सीएसआरअन्तर्गत अपांगता भएका लगानीकर्ताहरुका लागि सेयर शिक्षासम्बन्धी तालिम सञ्चालन गरेको थियो।