काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को आज बुधबार बिहान बैठक बसेको छ। 

बिहान ९ बजे बसेको नेप्सेको बोर्ड बैठकमा मुख्यगरी नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० इन्डेक्स सञ्चालन गर्ने मुख्य अजेन्डाका रुपमा पेस गरिएको थियो। तर, यी दुवै अजेन्डामा बैठकले निर्णय गर्न नसकेको नेप्से स्रोत बताउँछन्। ‘म्यानेजमेन्ट टिमले दुवै अजेन्डा बोर्ड बैठकमा राखेको थियो तर निर्णय भएन’, स्रोतले भन्यो, ‘यी दुवै विषयमा सामान्य छलफलमात्रै भयो। सम्भवतः आज साँझसम्म निर्णय हुन सक्छ।’

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले कारोबार सदस्यता प्रदान गर्ने विषयमा बैठकमा छलफल भएको थियो। तर, टुंगो लागेपछि अब अर्को बैठकको निर्णय कुर्नुपर्ने देखिन्छ।

आजभोलिमै कारोबार सदस्यता पाएको खडमा ती ७ नयाँ ब्रोकर कम्पनीले यही असारभित्रै कारोबार सञ्चालन गर्ने सम्भावना पनि छ। 

नेप्सेले नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको थियो। 

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। ‘तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइसकेको छ। 

नेप्सेबाट एलओई पाउने नयाँ ब्रोकर कम्पनीमा नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन्। नेप्सेले अब यी कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरेरमात्रै कारोबार सदस्यता प्रदान गर्नेछ।